१२. वृतासुर स्तुति
छैठौं स्कन्ध, एघारौं अध्याय
पृष्ठभूमि:
३३ मुख्य देवताहरुमा ८ वसु, ११ रुद्र, २ अस्विनीकुमार, र अदितिका पुत्र १२ आदित्य समाबेश छन्। आदित्य हरुमा विवस्वान् (सुर्य), अर्यमा, पुषा, त्वस्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र, र त्रिविक्रम (भगवान वामन) हुनुहुन्थ्यो। त्यस मध्येका त्वष्टाको दैत्य (दितिका सन्तान) कि छोरि रचना सँग विवाह भएको थियो। उनीहरुको संनिबेश र विश्वरूप नामका दुई पुत्र भए। विश्वरूप ब्राह्मण, तपस्वी र संयमी थिए। एक पटक इन्द्रले देवगुरु वृहस्पतिको अपमान गरेको कारणले गुरु वृहस्पति देवताहरुलाई त्याग गरेर अन्तर्ध्यान हुनुहुनुहुन्छ। गुरुको नहुदा र रक्षा गर्ने नभए पछि दैत्य हरुले स्वर्गमा आक्रमण गर्छन। त्यस पछि ब्रम्हाजीको उपदेश शिरोधार्य गर्दै इन्द्र सहित देवताहरुले अनुनय गरेर त्वस्टा पुत्र विश्वरुपलाई देवगुरुको रुपमा नियुक्त गर्छन। विश्वरुपले नै नारायण कवच जस्तो रक्षाकवच मन्त्र उपदेश गरेर इन्द्र र उनको शासनको रक्षा गर्नु हुन्छ। तर यज्ञ कर्म गर्दा आहुति दिने क्रममा लुकेर विश्वरुपले आपना मावली पक्ष दैत्य हरुलाई पनि दिनु हुन्थ्यो। इन्द्रले गुरुको यो चाल थाह पाउछन र त्रिशिरा विश्वरूपको वध गर्छन। इन्द्र ब्रह्महत्याको डरले एक वर्ष सम्म लुक्छन तर पछाडी आफ्नो पाप लाई चार भाग लगाएर आफु मुक्त हुन्छन।
देवताहरुको सेवामा भएका आफ्ना विद्वान पुत्रको हत्या भए पछि त्वस्टाले इन्द्र बध गर्ने पुत्र प्राप्तिको निम्ति यज्ञ गर्नुहुन्छ। त्यहि यज्ञ बाट पूर्वजन्ममा भगवानका परम भक्त चित्रकेतुको तमोगुणी वृतासुर रुपमा यज्ञकुण्डवाट जन्म हुन्छ। अति वलाशाली ति भीमकाय स्वरुपको वृतासुरले देवताहरुलाई परास्त गर्छन र देवताहरु ले भगवानको उपदेशानुसार ऋषि दधिचीको हाड मागेर त्यसबाट बनेको वज्रले वृतासुरको बध गर्ने उद्यम गर्दछन। त्यै बेला इन्द्र संग युद्ध हुन्छ, इन्द्रलाई एक पटक निल्दछन्, तर नारायण कवचको प्रभावले इन्द्र सुरक्षित रहन्छन। असुर र सुर सेना बीच युद्ध भै रहदाँ वृत्तासुर र इन्द्रको बीच सम्बाद हुन्छ। उनले इन्द्रलाई इन्द्रका गुरुको र आफ्ना दाजुको हत्यारा भन्दै मोहजनित आक्रोश पोखछन, तर भन्छन, भगवानको आशिर्वाद भएकोले युद्दमा इन्द्रकै जीत हुन्छ तर पनि वीरता पुर्वक युद्दगर्ने उद्घोष गर्छन। वृत्तासुर भन्छन, 'इन्द्र हरिको कृपा भएकोले तिम्रो वज्र अमोघ छ, मलाई मार र म यो शरीर छोडेर भगवान चरणमा प्राप्त हुने छु। तर यद्ध भन्दा पहिले म एक पटक भगवानलाई प्रार्थना गर्छु'। उनले छोटो तर अहैतुकी भक्तिको पराकाष्ठा मानिने विलक्षण स्तुति गर्दछन। यस्तो स्तुति कुनै ब्रह्मज्ञानीले मात्र गर्न सक्छन। फेरी स्मरण गरौँ, उनि ब्रह्म ज्ञानी राजा चित्रकेतुनै थिए जो पार्वतीजीको श्रापको कारणले छोटो समयको निम्ति दैत्य योनिमा प्रकट भएका थिए।
|
श्लोक |
अर्थ |
|
अहं हरे तव पादैकमूल- दासानुदासो भवितास्मि भूय: । मन: स्मरेतासुपतेर्गुणांस्ते गृणीत वाक् कर्म करोतु काय: ॥ २४ ॥ |
हे प्रभु (हरे)! म फेर्री, जसले हजुरका चरणमा आश्रय लिएका छन्, तिनीहरुको दासको पनि दास हौँ। मेरो मन र प्राणले सधैं हजुरको गुणको स्मरण गरोस। |
|
न नाकपृष्ठं न च पारमेष्ठ्यं न सार्वभौमं न रसाधिपत्यम् । न योगसिद्धीरपुनर्भवं वा समञ्जस त्वा विरहय्य काङ्क्षे ॥ २५ ॥ |
(त्यो दास भाव किन नि भन्नेको संशय हटाउदै ) म हजुरलाई छोडेर ध्रुवपद, ब्रह्मलोक, सार्वभौम पद, पातालका राज्य, योगसिद्धि, र मोक्ष पनि चाहन्न। |
|
अजातपक्षा इव मातरं खगा: स्तन्यं यथा वत्सतरा: क्षुधार्ता: । प्रियं प्रियेव व्युषितं विषण्णा मनोऽरविन्दाक्ष दिदृक्षते त्वाम् ॥ २६ ॥ |
जसरि पखेटा नउम्रेका चराका वच्चा जसरि आफ्नी आमा फर्किएर उनीहरुलाई खुवाउने प्रतिक्षामा हुन्छन, जसरि डोरीले वाधिएक भोकाएका बाछा उसको आमाको दुध दुहुने वेलाको प्ररिक्षामा हुन्छन, टाडा भएको प्रिय भेट्न प्रिया अधीर भएर प्रतिक्षा गरि रहन्छिन, हे कमललोचन, म पनि हजुरको दर्शन गर्ने (नित्य सेवा गर्ने) इच्छा राख्दछु। |
|
ममोत्तमश्लोकजनेषु सख्यं संसारचक्रे भ्रमत: स्वकर्मभि: । त्वन्माययात्मात्मजदारगेहे- ष्वासक्तचित्तस्य न नाथ भूयात् ॥ २७ ॥ |
हे नाथ! मेरो आफ्नो कर्मको कारण यो संसार चक्रमा भ्रमण गर्ने म जस्ताको मित्रता पुजनीय भक्तहरु सँग होस् र मायाले मेरो चित्त शरीर, पुत्र, कलत्र, घर आदिमा आसक्त भयो, फेरी मेरो आसक्ति त्यस्तोमा नहोस ! |
संक्षिप्त व्याख्या:
वृतासुर स्वर्ग भोग गर्नु भन्दा युद्दमा वीर गति पाएर भगवत श्रीचरण प्राप्त गर्न चाहन्थे। यो स्तुति गर्न लाग्दा वृतासुर आफ्नो मृत्यु नजिक भएको अनुभव गर्छन, किन भने हरिको अनुकम्पा इन्द्र सँग थियो। उनि भन्छन: ...यतो हरिर्विजय: श्रीर्गुणास्तत: (६:११.२०) अथवा जहाँ हरि त्यहाँ विजय, श्री र सर्वगुण हुन्छ। यस्तो लाग्छ उनि पनि दिव्य चक्षु प्राप्त संजयको जस्तै भविस्य देख्दछन। संजयले युद्दभुमि हेर्दै आफ्ना महाराजलाई युद्ध नहुदै यसको नतिजा सुनाउछन:
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम।।(श्रीमद्भगवत गीता १८:७८)
अर्थात, मेरो मतमा जहाँ योगेश्वर कृष्ण हुनुहुन्छ, जहाँ धनुर्धर अर्जुन हुनुहुन्छ त्यहाँ श्री(सम्बृधी), विजय, बिभुति/ऐश्वर्य, अचल नीति हुन्छ। वृत्तासुर यही भावमा छन्। उनि भगवत स्मरण गर्ने मात्र होइनन, उनि उत्तम प्रकारका भक्त हुन्। गीतामा भगवान भन्नु हुन्छ:
चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ।।७:१६।।
अर्थात्, आर्त (दुखमा परेका), जिज्ञासु, अर्थाथी (धनको चाहना हुने) र ज्ञानी चार प्रकारका पवित्र आत्मा भएका मानिस हरुले मात्र मेरो भजन/यजन गर्दछन। पहिलो तो सुकृतात्मा/पवित्र आत्मा भएका हुनु पर्यो, त्यस्ता नहुनेले दुख समेत भगवान सम्झिदैन। दुख बाट बिमुक्ति र धन प्राप्ति जस्ता काम्य भाव सहित सम्झिने पनि हुन्छन, जिज्ञासुहरु र ज्ञानीजन स्वार्थरहित (निस्काम भावले) भगवानको स्मरण गर्छन। वृतासुर त्यसै गर्छन। उनि त् भगवत् श्रीचरण बाहेक कुनै पनि लोक र सत्ताको र मोक्षको समेत आश राख्दैनन् ( दोश्रो श्लोक हेरौ)। धेरै पछिल्ला कालका सन्तहरुलाई प्रेरित गर्ने भाव छ वृत्तासुराको। सन्त राजा कुलशेखरको पनि यस्तै भाव छ। वहाँको प्रख्यात रचना 'मुकुन्दमाला' मा भन्नु हुन्छ:
नाहं वन्दे तव चरणयोर्द्वन्द्वमद्वन्द्वहेतोः
कुम्भीपाकं गुरुमपि हरे नारकं नापनेतुम् ।
रम्यारामामृदुतनुलता नन्दने नापि रन्तुं
भावे भावे हृदयभवने भावयेयं भवन्तम् ॥ ४ ॥
(हे हरि! म द्वन्द्व (जाडो गर्मि), कुम्भिपाक भन्दा अझ बिभत्स नरक बाट बच्न, वा (स्वर्गको) नन्दवनमा कोमलाङ्गीहरु सँग रमण गर्न पनि हजुरको वन्दन गरेको होइन, मेरो बन्दना हजुर सधैँ मेरो मनमन्दिर (हृदयभवन)मा हजुरलाई सम्झी रहुँ भनेर मात्र हो ) ।
वृतासुर जस्ता निस्काम भावले भगवत प्रेम गर्ने हरुको निम्ति भगवत श्रीचरण नै सवै भन्दा ठुलो धन हो। अनि त यामुनाचार्य आफ्नो दर्शन र भक्तियुक्त आफ्नो प्रख्यात 'स्तोत्ररत्न' (अलवन्दार स्तोत्र) मा प्रार्थना गर्नु हुन्छ: धनं मदीयं तव पादपङ्कजं कदा नु साक्षात्करवाणि चक्षुषा (मलाई हजुरको चरणकमल धन दिनुस, कहिले मेरो आँखाले दर्शन पाउछु ?) । वृत्तासुरको भक्ति यामुनाचार्य जस्ता परम भक्तहरुको भन्दा फरक छैन--उनि पनि दर्शनको अभिलाषा राख्दछन (तेश्रो श्लोक हेरौं)।
तर सवै भन्दा पहिले वृतासुरको भाव भगवानमा आश्रित सन्तहरु संग सत्संग होस् भन्ने प्रार्थना गर्दछन। यो भाव शुकदेवजीको स्तुतिमा आएको उपदेश जस्तै छ। शुकदेव भन्नु हुन्छ: भगवान को त कुरै छोडौँ भगवतआश्रित सन्तहरुको आश्रयले पनि कल्मष (पाप) नष्ट हुन्छन। सन्तराजा कुलशेखर यो भाव अझ तिक्खर भावमा भगवान संग माग्नु हुन्छ। वहाँ भन्नु हुन्छ:
मज्जन्मनः फलमिदं मधुकैटभारे
मत्प्रार्थनीय मदनुग्रह एष एव ।
त्वद्भृत्यभृत्य परिचारक भृत्यभृत्य
भृत्यस्य भृत्य इति मां स्मर लोकनाथ ॥मुकुन्दमाला २७॥
(हे मधुकैटभका संहारक ! हे लोकनाथ! मलाई मेरो जन्मको फल यहि होस् र हजुरको अनुग्रह होस् मलाई हजुरका भक्त(दास) हरुको दासको पनि दासको दास, उनका पनि दासको पनि दासको रुपमा स्मरण गर्नुस।)
यो सत्संगको अभिलाषा हो। वृतासुर पनि यसै गर्छन। किनभने सत्संग भगवत प्राप्तिको सुलभ र सरल मार्ग हो। भगवानको अनुकम्पा विना यो असम्भव छ. त्यसैले त् गोस्वामी तुलसी दास भन्नु हुन्छ:
बिनु सत्संग विवेक न होई। राम कृपा बिनु सुलभ न सोई।।
यहाँ 'विवेक'को अर्थ ज्ञान लाई लिनु पर्दछ।
यो विवेक भए पछि मोहजनित भावमुक्त होइन्छ, र भगवतचरणमा भक्ति हुन्छ। गोस्वामी तुलसीदासकै शब्दमा:
होइ विवेकु मोह भ्रम भागा। तव रघुनाथ चरण अनुरागा।।
देह छोड्नु भन्दा पहिले वृतासुरको अभिव्यक्तिमा सवै मोहबाट बिमुक्त परम भक्तको भाव आउछ, भिष्मजीको जस्तै ((माथीको भीष्मजी स्तुति पनि हेरौं)। त्यसैले यो स्तुतिको श्रीमद्भागवतमा अलग्गै महत्व छ।